काठमाडौं – १९ स्थित यटखामा सोमबार पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने उल्लेख गरेका हुन् । उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले जनतासँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुख, दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्व. जोशीलाई चिनेको भन्दै स्मरण गरे। उनले स्व. जोशीको व्यक्तित्वले राष्ट्रिय रुपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताए । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि उल्लेख गरे ।‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ, उनले भने, जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख, दुःख बुझ्ने नविन्द्र यही दर्शनबाट प्रभावित थिए ।’
राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा स्व. जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।२०७७ चैत १३ गते जोशीको निधन भएको थियो ।