मुम्बई इन्डियन्स पहिलो संस्करणको महिला प्रिमियर लिग च्याम्पियन बनेको छ । गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

मुम्बईमा टस जितर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । टिमको स्कोर ३५ रन हुँदा दिल्लीले ३ ब्याटर गुमाएको थियो । सेफाली बर्मा ११, एलिस काप्सी शून्यमा आउट भएका थिए । जेमिनाह रोद्रिगेज ९ रनमा पभेलियन फर्किइन् ।

मारिजन क्यापले १८ रन बनाउँदा कप्तान मेग लेनिङले सर्वाधिक ३५ रन जोडिन् । शिखा पान्डे २७ रनमा अविजित रहिन् । हेली र इसी वोङले ३ – ३ विकेट लिए । एमेलिया करले २ विकेट हात पारिन् ।

जवाफमा मुम्बईले १९ ओभर ३ बलमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको मुम्बईका यासिका भाट ४ र म्याथ्युज १३ रनमा मैदान बाहिरिएका थिए ।

कप्तान हर्मनप्रित कौर ३७ रनमा रन आउट भइन् । नाट सिभर ब्रन्टले ५५ बलमा अविजित ६० रन बनाउँदै मुम्बईलाई च्याम्पियन बनाइन् ।

लिग चरणमा दिल्लीसँग व्यहोरेको हारको बदला मुम्बईले फाइनलमा लियो । उपाधिसँगै मुम्बईले ६ करोड र उपविजेता दिल्लीले ३ करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरे । भारतीय क्रिकेट बोर्डले आयोजना गरेको इन्डियन प्रिमियर लिग आईपीएल सरहको फ्रेन्चाइज महिला लिगमा ६ टोलीको सहभागिता थियो ।

77
Shares
१३ चैत्र २०७९, सोमबार ०८:१६