विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य विषयका स्नातकोत्तर तह (एम.एस.डब्ल्यु.) का विद्यार्थीहरूलाई भेडेटारमा लगेर अभिमुखीकरण तालिम दिएको छ ।

सामाजिक कार्यमा पहिलो पटक स्नातकोत्तर तह अध्यापन शुरू गरेको जनता क्याम्पसले कक्षा शुरू गर्नु अघि विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो ।

कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख डा. कोमल दुलाल, पूर्व क्याम्पस प्रमुख डा. रमेशवावु काफ्ले, क्याम्पस प्रमुख महेशप्रसाद निरौला, उपप्राध्यापक एवं पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सभापती यज्ञराज जमरकट्टेल, उपप्राध्यापक पुकार चौधरीले विद्यार्थीहरूलाई अभिमुखीकरण गरेका हुन् ।

पहिलो पटक सामाजिक कार्यको स्नातकोत्तर तहको अध्यापन शुरू गरेको जनता आदर्श बहुमुखी क्याम्पसमा २० जना विद्यार्थी अध्ययनरत छन् । यसअघि सामाजिक कार्यको स्नातकोत्तर तहको अध्ययनका लागि काठमाण्डौं जानुपर्ने बाध्यता थियो ।

जनता आदर्श बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको अध्ययन शुरू गरेसँग स्नातकोत्तर तहको अध्ययनका लागि काठमाण्डौं नै जानुपर्ने अबस्थाको अन्त्य भएको छ । सेमेष्ट्रार सिस्टममा अध्यापन हुने एम. एस. डब्ल्यु. मा चार सेमेष्ट्रार छन् । एम. एस. डब्ल्यु.का विद्यार्थीले सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक र अभ्यासमा आधारित ज्ञान प्राप्त गर्ने गरी कोर्स बनाइएको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिएका छन् ।

एम. एस. डब्ल्यु. अध्ययन गरेका विद्यार्थीले अभ्यासमा आधारित र व्यवहारिक ज्ञान प्राप्त गर्ने भएकाले उत्पादित जनशक्ति सामाजिक क्षेत्रका अतिरिक्त जुनसुकै क्षेत्रमा खपत हुने क्याम्पस प्रमुख निरौलाको भनाई छ । एम. एस. डब्ल्यु. को कक्षा सोमवारदेखि विहानीको सत्रमा सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यको स्नातक तह, शिक्षा शंकाय तर्फ चार वर्षे बी. एड., एक वर्षे बी. एड. र दुई वर्षे एम. एड. कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

112
Shares
१२ चैत्र २०७९, आईतवार १०:१२