माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरु तत्काल फिर्ता नहुने बताएका हुन् ।
‘अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने ।उनले कोशी प्रदेशमा मध्यावधिमा जाने कुरा पनि हल्ला मात्रै भएको बताए । ‘मध्यावधिमा जाने कुरा कहाँबाट आयो । कुनैपनि हालतमा प्रदेश मध्यावधिमा जाने कतैपनि सम्भावना छैन । यो सामान्य गणितले पनि त्यही भन्छ ।
दोस्रो कुरा सभामुखको राजीनामा बारे हामीले कल्पना पनि गरेका छैनौं । सभामुखले राजीनामा नगरि पनि सरकार बन्ने कुराको निम्ति कतै पनि अवरोध अहिले छैन,’ उनले भने, ‘जहाँसम्म अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरु फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौं ।’