कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफबाट पाएको १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनाएपछि एपीएफले जित पक्का गरेको हो । यससँगै एपीएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एपीएफले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता कुँवरले ६० बलमा ५१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनले तीन चौका र २ छक्का प्रहार गरिन् । कुँवरका अलावा कविता जोशीले २६ रनको अविजित पारी खेलिन् । सम्झना खड्का १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सुमन विष्टले २ तथा कप्तान सीता राना मगर र इन्दु बर्माले समान १/१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले ५९ बलमा अविजित ५४ रनको अर्धशतकीय इनिङ खेलिन् । सीताले ७ चौका प्रहार गरिन् । यस्तै इन्दु बर्माले ३७ बलमा ५ चौकाको मद्दतमा ४५ रन बनाउँदा ज्योति पाण्डे १३ रनमा रनआउट हुन पुगिन् । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी विष्टले १ विकेट लिइन् ।
यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा एपीएफले मधेस प्रदेशमाथि १० विकेट फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यस जितपछि एपीएफ २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यता पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५१ रनले पराजित गरेको सुदूरपश्चिमको समान २ खेलबाट २ अंक छ । सुदूरपश्चिम तेस्रो छ ।