काठमाडाैँ ।ललितपुर मेयर्स वुमन्स टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा कोसी प्रदेश र एपिएफ विजयी भएका छन्। टियू मैदान कीर्तिपुरमा भएको दिनको पहिलो खेलमा विभागीय टिम एपिएफल सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दा अर्को खेलमा कोसी प्रदेशले आयोजक ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्याे।
टियू मैदान कीर्तिपुरमा लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको थियो। उसका लागि कप्तान सीता राना मगरले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा इन्दु वर्माले ४५ रन बनाइन्। त्यस्तै ओपनर ज्योति पाण्डे १३ रनमा आउट हुँदा ममता चौधरी ३ रनाम अविजित रहेकी थिइन्।
१ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो। उसका लागि कविता कुंवरले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा कविता जोशी २६ रनमा अविजित रहेकी थिइन। त्यस्तै सम्झना धामीले १७ रन बनाइन। सुदूरपश्चिमले दोस्रो खेलमा पहिलो हार भोग्दा एपिएफ भने २ खेलबाट ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ।शुक्रबार नै भएको दिनको दोस्रो खेलमा कोसी प्रदेशले आयोजक ललितपुर मेयर ११ लाई ७ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर १६।५ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटिएको थियो। उसका लागि ओपनर लक्ष्मी चौधरीले २३ रन तथा मनिसा उपाध्यायले १० रन जोड्नु दोहोरो स्कोरका रुपमा रह्यो। उसका ९ ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
जवाफमा उक्त लक्ष्य कोशी प्रदेशले १२ ओभरमानै ३ विकेट गुमाएर पूरा गर्याे। कोसीका लागि रुविना क्षेत्रीले १३ रन बनाउँदा अप्सरी बेगमले २९ रनको अविजित इनिङ खेलेकी थिइन्। कोसीको यो पहिलो खेलमा पहिलो जित हो।