काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको दाबी गरे । सरकार संसद्‌को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु सर्मनाक रहेको जनाए । उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे ।

‘२ महिनाअघि सबैले विश्वासको मत दिने हुटहुटी थियो । आज फेरि यस्तै छ । यसमा हामीलाई जनताले के भन्ने हुन् ? अचम्म लागेको छ । हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौं तर चलाउनै नसक्ने भयौं,’ उनले भने, ‘संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो कि होइन, पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन, तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने ? जनतालाई के भन्नुहुन्छ ? हाम्रो लडाईं यसपछि यो यसपछि यसको सरकार बनाउने र गिराउने भन्ने खेती भएको छ । यसबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ ? जनतालाई आश्वासन दिलाउन सक्नुहुन्छ ? महँगी कस्तो छ ? यतातिर सोच्नुपर्दैन । सत्ता र शक्तिका लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्ने कुराबाट जनतालाई राम्रो हुँदैन । प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ।’
77
Shares
६ चैत्र २०७९, सोमबार १९:४९