विराटनगर । उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षताको महत्त्वका सम्बन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा दक्षता केन्द्रको उद्योगीहरूको लागि अभिमुखीकरण गरेको छ ।

विराटनगरमा भएको कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक तथा व्यवस्थापकको सहभागिताका रहेको थियो ।

संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खेर गइरहेको ऊर्जाको व्यवस्थापनका साथै यथार्थपरक ऊर्जा बचतको उपायहरू खोजी गरी सुधार गर्नसके वार्षिक रूपमा लाखौँ रकम बचत गर्न सफल हुने बताए ।

उनले उद्योगहरूको बढ्दो उत्पादन लागत घटाउन खेर गइरहेका ऊर्जाको समुचित व्यवस्थापन गरी हाल प्राप्त ऊर्जाबाट बढी भन्दा बढी उत्पादकत्व लिन उद्योग व्यवसायहरू केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जि.आई.जेडका कम्पोनेन्ट म्यानेजर सञ्जय गोर्खालीले ऊर्जा उपभोगका सन्दर्भमा आगामी दिनहरूमा आउन सक्ने नीतिलाई ध्यानमा राखी सोही अनुरूपको ऊर्जा बचतका विधिहरू अपनाउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

जि.आई.जेडले निजी क्षेत्रका उद्योग व्यवसायलाई कानुनी र संस्थागत रूपमा सहयोग पुर्‍याउने गरी कार्ययोजना तयार गरिरहेको जानकारी गराउँदै उनले ऊर्जा दक्षता सम्बन्धी कार्यक्रम देशव्यापी रूपमा लैजाने तयारी भईरहेको बताए ।

91
Shares
६ चैत्र २०७९, सोमबार ०९:३५