काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।

देशभरका क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन भएको र  प्रारम्भिक सूचनाअनुसार ६० प्रतिशत मतदान भएको त्रिविका शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय समितिका अध्यक्ष शिवलाल भुसालले जानकारी दिए ।

उनका अनुसार ४७ वटा आंगिक र २ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो ।

१४ वर्षपछि भएको निर्वाचनमा विद्यार्थीहरूको  उत्साहजनक सहभागिता रहेको शिक्षाध्यक्ष भुसालले बताए । मतदान सकिएका क्याम्पसमा आजै साँझबाट मतगणना सुरु गरिने त्रिविले जनाएको छ ।

बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि ढिला सुरु भएका र विवादका कारण अवरुद्ध भएका केही क्याम्पसमा भने तोकिएको समयपछि पनि मतदान जारी थियो ।
56
Shares
६ चैत्र २०७९, सोमबार ०७:३९