विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिक रुपमा सम्पन्न भएको हो ।
नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ ।त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।
आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए ।
नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक ३५० भन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । तीनदिने महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत वाचन गरिएको थियो ।
महोत्सवमा २५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने लगायत सहभागी थिए ।