विराटनगर । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विराटनगरस्थित नर्सिङ क्याम्पसमा तालाबन्दी भएको छ।

क्याम्पस प्रशासन, शिक्षक तथा कर्मचारीले एकतर्फी रूपमा निर्वाचनको कार्यक्रम अघि बढाएको जनाउँदै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो।

नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेलले नर्सिङ क्याम्पसमा विद्यार्थीलाई स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने अवसरबाट बञ्चित गराउँदै डर, त्रास, धम्की लोभ देखाएर विद्यार्थीलाई हतोत्साही बनाउने कार्य भएको बताए।

अध्यक्ष पोखरेलले क्याम्पस प्रमुखदेखि पदाधिकारी, केही शिक्षक र निर्वाचन समितिसमेत निर्वाचनलाई एकतर्फी बनाउने खेलमा लागेको आरोपसमेत लगाए।

हालको निर्वाचन समिति भंग गरी नयाँ निष्पक्ष निर्वाचन समिति गठन हुनुपर्ने माग गरेको विद्यार्थी नेता पोखरेलकाे भनाइ छ।

क्याम्पसमा १८६ जना विद्यार्थी अध्ययनरत रहेका छन्। जसमा ३ जना पुरुष विद्यार्थी छन्। नर्सिङ क्याम्पसमा अघिल्लो दुई कार्यकालमा नेविसंघ र अनेरास्ववियुले जित निकालेका थिए।

यसपटक केन्द्रीय राजनीतिक समीकरणसँगै समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारीले नेविसंघलाई समर्थन गर्ने जनाएका छन्।निर्वाचनमा नेविसंघतर्फबाट सभापतिमा स्मारिका बराल र अनेरास्ववियुतर्फबाट प्रशंसा पौडेलको उम्मेदवारी रहेको छ।

63
Shares
४ चैत्र २०७९, शनिबार ११:०३