धनकुटा । लघु, घरेलु र साना उद्योग एकत्रित गरी सञ्चालन गर्न धनकुटाको अमलेटारमा औद्योगिक ग्राम निर्माण गरिएको छ । ग्रामसम्म पुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको वर्षौं भइसक्यो ।
तर, व्यवसायका लागि आवश्यक औद्योगिक सुविधा र वातावरण नहुँदा उद्योग स्थापना हुन सकेका छैनन् ।
धनकुटाको आत्मारामा रहेको अमलेटारमा औद्योगिक ग्राम बनाउन २०३९ सालमै ५९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यस यता पटकपटक गरी यो ठाउँमा सडक र भवन पूर्वाधार निर्माणका लागि २० करोडभन्दा बढी रुपैयाँ लगानी भइसकेको छ । ५२ मध्ये २७ वटा व्यापारिक भवन तीन वर्षअघि नै तयार भइसकेका छन् ।बन्नु पर्ने २५ मध्ये केही भवन निर्माणाधीन छन्। तयार पारिएका भवनमा उद्योग सञ्चालन गर्दै जाने नीति हो । तर अहिलेसम्म उद्योग सञ्चालनमा आएका छैनन् ।
ग्राममा उद्योग सञ्चालनका लागि घरेलु कार्यालयले पटक-पटक मागेको प्रस्तावमा जम्मा २६ जना उद्यमीको निवेदन परेको छ । ग्राममा औद्योगिक उत्पादनका लागि पाँच जनाले सम्झौता गरेका छन् । तर उत्पादन थालेका छैनन् ।