जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत टोलीको अनुगमनका क्रममा यसको खुलासा भएको हो ।
कालोपत्रेका लागि सब–बेसको सामग्री तथा ढलानका लागि प्रयोग गरिएको बालुवामा माटो मिसिएको पाइएको जिसस प्रमुख राईले बताए ।‘सब–बेस, कजवे निर्माणमा स्ट्यान्डर्ड विपरीतको बालुवा प्रयोग गरिरहेको भेटियो,’ उनले भने, ‘गुणस्तरहीन निर्माण सामग्री हटाउन र माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको संरचना भत्काएर फेरि गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिएका छौं ।’ उक्त निर्माण कम्पनीलाई गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न कागजसमेत गराइएको जिसस प्रमुख राईले जनाए ।
उक्त सेक्टर (दस किलोमिटर) को ठेक्का भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले लिएको हो । करिब ३२ करोड रुपैयाँको लागतमा २०७५ फागुन ३० सम्ममा सक्ने गरी २०७२ चैत २ मा सम्झौता गरेको थियो । तर निर्माण अवधिमा काम नसकिएपछि पटकपटक म्याद थप्दै आएको छ ।