निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचनको घोषणा गरिसकेको छैन । तैपनि तनहुँका कांग्रेस नेताहरुले टिकट हात पार्न दौडधुप सुरु गरेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई पराजित गरेका थिए ।
पौडेलले २५ हजार ३ सय ६१ मत र रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्र प्रतिनिधिसभा सदस्यविहीन भएको हो । उक्त स्थानमा कांग्रेसबाट उपनिर्वाचन लड्न ४ जना नेता आकांक्षी देखिएका छन् ।नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराईले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने माग गरेका थिए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले यसअघि टिकट नपाएपछि बागी उम्मेदवारी घोषणासमेत गरेका थिए । नेताहरुले राष्ट्रियसभामा ल्याउने आश्वासन दिएपछि उनी रोकिएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि सो क्षेत्रमा चुनाव लड्न इच्छुक देखिन्छन् । भट्टराईले सभापति देउवालाई १५ फागुनमा भेटेका थिए । भेटमा सभापति देउवाले आफूलाई चुनाव लड्न तयार रहन भनेको उनले बताए ।ध्रुव वाग्ले पनि तनहुँ–१ मा उम्मेदवार बन्ने अर्का आकांक्षी हुन् । यसअघि ०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका उनी ०५४ मा व्यास नगरपालिकाको मेयर भएका थिए ।
प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पोखरेल पनि उम्मेदवार बन्न इच्छुक देखिन्छन् । उनले फेसबुक स्टाटसमार्फत क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न चाहेको उल्लेख गरेका छन् ।