काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि चार जनाले उम्मेदवारी दिएका छन् भने एक उम्मेदवारविरुद्ध २ उजुरी परेका छन् ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि गठबन्धन दलबाट ३ र नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहाय यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै सत्तामै रहेको अर्को दल जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् । संसद् भवन बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयलमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध भने दुई वटा उजुरी परेका छन् ।

यादवको उम्मेदवारीविरुद्ध उपराष्ट्रपति पदकै उम्मेदवारद्वय अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । एमालेबाट उपराष्ट्रपति उम्मेदवार शाक्यको तर्फबाट एमाले सांसद महेश बर्तौलाले उजुरी दर्ता गराएका हुन् भने जनमत पार्टीबाट उपराष्ट्रपति उम्मेदवार ममता झाले उजुरी दिएकी हुन् ।

दुवै उजुरीमा राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने दाबी गरिएको छ । उजुरीका लागि दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको थियो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उजुरीमाथि छानबिन गरी भोलि निर्णय सुनाइने बताए ।

उपराष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

28
Shares
२८ फाल्गुन २०७९, आईतवार ०६:३८