इटहरी । सुनसरीको इटहरीमा हुने १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा ३ लाख रुपैयाँ वृद्धि गरिएको छ।

शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकप आयोजक समितिका संयोजक अनुरोध थापाले यसपटक गोल्डकपको पुरस्कार राशीमा वृद्धि गर्दै स्तरीय क्लबलाई सहभागी गराइने जानकारी दिए।

प्रतियोगिता चैत्र ४ गतेदेखि ११ गतेसम्म हुने छ। गोल्डकपमा यसपटक उपाधि विजेताले १० लाख रुपैयाँ र ट्रफी हात पार्ने बताएका संयोजक थापाले उप–विजेताले ५ लाख रुपैयाँ पाउने जानकारी दिए।

यसअघिको १२ औँ संस्करणमा विजेता टोलीले ७ लाख रुपैयाँ हात पारेको थियो। पत्रकार सम्मेलनमा गोल्डकप आयोजनाका लागि अनुमानित ७० लाख ५० हजार रुपैयाँ खर्च हुने बताएका संयोजक थापाले इटहरी उपमहानगर, खेलकुद विकास बोर्ड कोशी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, प्रायोजक, स्थानीय सहयोगी टिकट बिक्रीबाट ७१ लाख रुपैयाँ संकलन गर्ने अपेक्षा राखेको जानकारी दिए।

गोल्डकपमा सहिद स्मारक ए डिभिजनका ३ सहित आठ वटा टोलीको सहभागिता रहने उनको भनाइ छ। गोल्डकपमा सम्भावित सहभागी क्लबका रुपमा पूर्वविजेता सगरमाथा फुटबल क्लब मोरङ, उप–विजेता त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्याइज क्लब काठमाडौँ, भारतको कञ्चनजंघा फुटबल क्लब, क्यामरुनको एभिनियर एफसी, आयोजक राष्ट्रिय जागृति क्लब, रोलिङ क्लब झापा रहने उनले बताए।
3.51k
Shares
२६ फाल्गुन २०७९, शुक्रबार १७:१५