काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा परेको रिटमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ । हिजो (बिहीबार) हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेन ।

द्वन्द्वकालका घटना सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार पेसी तोकिएको थियो ।

द्वन्द्वकालका घटना सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार सर्वोच्चमा दर्ता गरिएका दुईवटा रिटमाथि हिजो (बिहीबार) तोकिएको पेसीका लागि निवेदकहरु बिहानै सर्वोच्चमा पुगे पनि मध्याह्न ४ बजेपछि हेर्न नभ्याइने भन्दै आज (शुक्रबार) का लागि सारिएको थियो ।

निवेदकहरुमध्ये केहीले भने धम्कीपूर्ण फोन आइरहेको उल्लेख गरेका थिए । रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रिपरिषद्‌को कार्यालय, गृह, रक्षा र कानुन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको रिटमा पुष्पकमल दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने अन्तरिम आदेशको माग गरिएको छ ।

निवेदक कल्याण बुढाथोकीसमेत आठजना र ज्ञानेन्द्रराज आरणसहित १८ जनाले सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।
63
Shares
२६ फाल्गुन २०७९, शुक्रबार १२:०७