काठमाडौँ ।  उद्योगी व्यवसायीले देशको अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले दलसँग उचित अर्थनीति नभएको भन्दै गुनासो गरेका छन्।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र गगन थापासँगको छलफलमा उद्योगी व्यवसायीले देशको अर्थतन्त्र र सरकारको मौद्रिक नीतिको विषयमा गुनासो गरेका हुन्।

उद्योगी व्यवसायीले राजनीतिक स्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्र संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उद्योगी व्यवसायीले संकटपूर्ण अर्थतन्त्रको समाधान गर्न नेपाली काँग्रेसलाई अग्रणी भूमिका खेल्न सुझाव दिए।

छलफलमा अधिकांश व्यवसायीले सबैभन्दा पहिला बैंकको उच्च ब्याजदर नियन्त्रण गर्नुपर्ने सुझाव दिए। व्यवसायीले सरकारले लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए।

छलफलमा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए।

उनले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरे। उनले सरकारी नीतिका कारण उद्योगीहरू उद्योग छाडेर व्यापारतिर सिफ्ट भइरहेको बताए। उनले उद्योगबाट राज्यले अतिरिक्त आम्दानी लिएर अधिक फाइदा लिए पनि प्रशासनिक कारण र नियम कानूनले गर्दा उद्योगमा धेरै समस्या रहेको बताए।

उनले प्रशासनिक र कानूनी समस्याकै कारण नेपालमा उद्योग गर्दा लागत बढ्दा उद्योगीलाई निरुत्साहित बनाएको बताए। उनले सरकारले उद्योग स्थापना गर्दा लाग्ने लागत शुल्क संरक्षण नदिने हो भने एउटा पनि उद्योग सञ्चालन गर्नसक्ने अवस्था नभएको बताए।

49
Shares
२६ फाल्गुन २०७९, शुक्रबार ०६:१५