काठमाडौँ । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ। आजसम्म खुवाइने भनिए पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए। यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान आज फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो।

उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर भोलिदेखि पुनः पाँच दिन अभियानलाई निरन्तरता दिने बताए। हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ। औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाइ खुवाइएको छ।

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ। औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ।

महाशाखाले चार जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा तीन प्रकारको औषधि खुवाएको छ। दुई प्रकारको औषधिमा अल्वेण्डाजोल र डाइइथाइल कार्बावाजिन तथा तीन प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु