लुम्बिनी । बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ।

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।

विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमबीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्डकपमा हालसम्मकै सर्वाधिक रु ११ लाख ११ हजार एक सय ११ सहित कप, मेडल र प्रमाणपत्र र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख नगद राशि प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद रु ३० हजार पुरस्कार राशि प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्याद अफ दी म्याचले रु ११ हजार एक सय ११ नगद राशि प्राप्त गर्ने रुपन्देही जिल्ला फुटबल सङ्घका अध्यक्ष लोक पुनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताको यस संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम–११ गरी आठ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घका महासचिव हिमाल गौचनले जानकारी दिए।
161
Shares
२५ फाल्गुन २०७९, बिहीबार ०८:२०