काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान ११:४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुँदै छ ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने दाउमा रहेका दुई देशनै आजको खेल जित्नै पर्ने दबाबमा छन् । तर, लिग–२ मा नेपालले युएईलाई हालसम्म पराजित गरेको छैन । लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ। नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईलाई पनि ओडिआई मान्यता सोझै जोगाउन तीन जित आवश्यक देखिन्छ । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमा अल आउट भएको थियो ।

आइतबारको खेलमा युएई पुछारमा रहेको पपुवा न्युगिनीसँग मात्रै ९७ रनमा अल आउट भएको थियो । पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको थियो । पपुवा न्युगिनीले युएईलाई हराएको हुँदा नेपालको मनोबल उच्च छ ।

नेपालका कुशल मल्लले युएईविरुद्ध सर्वाधिक ६० रनको योगदान दिँदा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बायाँ खुट्टाको ग्रोइन समस्याको कारण नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेनलले युएईसँगको आजको खेल गुमाउने छन् । नेपालले कुशलको स्थानमा सन्दीप जोरालाई खेलाउँदै ब्याटिङ मजबुत बनाउन सक्छ । जोरा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनी टोलीसँगै युएईमा भएपनि अन्तिम १४ खेलाडीको सूचिमा भने थिएनन् ।

नेपाल ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाट खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । युवा ब्याटर कुशल मल्ल भने राम्रो लयमा छन् । अनुभवी ज्ञानेन्द्रबाट नेपालले आजको खेलमा ठूलो अपेक्षा गरेको छ । तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् । आरिफ शेखले पार्टटाइम तीव्र गतिका बलरमा साथ दिनेछन्।

स्पिनरमा सन्दीप लामिछाने हुन् । सन्दीपलाई दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । नेपाल ६ बलिङ विकल्पका साथ मैदान उत्रनेछ । सबै खेलाडी ब्याटिङको क्षमता राख्छन् । सन्दीपले पपुवा न्युगिनीविरुद्ध ३५ रन जोड्दै ब्याटिङमा झनै आशा थपेका छन् । करण र सोमपाल राम्रो ब्याटरमा पर्दछन् । जिम्मेवारीका साथ खेल्न आवश्यक देखिन्छ । पिचमा रन बनाउन भने सहज छैन ।

युएईको ब्याटिङ शीर्ष चार ब्याटरमा निर्भर छ । ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द, सिपी रिजवान र रोहन मुस्तफाको विकेट निकै महत्वपूर्ण हुनेछ । यी चार ब्याटर सस्तैमा आउट हुँदा नेपाल पूरै खेलमा हाबी हुनसक्छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ युएईको सवैभन्दा ठूलो कमजोरीको रुपमा छ । वासिम प्रमुख ब्याटर हुन् । ओपनर वासिममा सुरुवातमा आउट गर्दा युएई पूरै खेलमा दबाबमा पर्नसक्छ ।

तीव्र गतिको बलिङ भने युएईको उत्कृष्ट छ । युएई जुनैद सिद्दिक, जहुर खान र सविर अली तीव्र गतिका बलरको रुपमा छन् । स्पिनरमा आयन खान, मुस्तफा र कार्तिक मयाप्पन हुनेछन् । युएईको बलिङ आक्रामण राम्रो हुँदा कमजोर मध्यक्रमको फाइदा उठाउँदै सस्तैमा अल आउट गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु