विराटनगर । नेपालमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ ।
नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाना पकाउने ग्यासको खपत दुई लाख ९६ हजार ५१ मेट्रिक टन भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख १८ हजार ४०१ मेट्रिक टन ग्यास खपत भएको थियो । खाना पकाउने ग्यासको खपतमा ७ प्रतिशतले कमी आएको हो ।निगमका एलपी ग्यास विभाग प्रमुख नेत्रप्रसाद काफ्लेका अनुसार चालू आर्थिक वर्षको सुरुदेखि नै ग्यासको खपत घटबढ भइरहेको छ ।
इन्डक्सनको प्रयोग बढेर पनि ग्यासको माग कम भएको हुन सक्ने अनुमान गरिएको छ । मुलुकमा देखिएको आर्थिक गतिविधिको सुस्तताका कारण माग कम हुँदा समग्र ग्यासको खपतमा कमी आएको हुन सक्ने देखिएको काफ्लेले बताए ।
विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले हुने गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधि साउनदेखि माघसम्ममा खाना पकाउने ग्यासको खपत ७ प्रतिशतले घटेको छ ।
चालू आर्थिक वर्षको सुरुदेखि नै ग्यासको खपत घटबढ भएको छ । निगमका अनुसार साउन महिनामा ३८ हजार ८६९ मेट्रिक टन, भदौमा ३९ हजार ६२८ मेट्रिक टन, असोजमा ४२ हजार ६०६ मेट्रिक टन, कात्तिकमा ४१ हजार २६७ मेट्रिक टन र मंसिर महिनामा ४४ हजार ७७ मेट्रिक टन खपत भएको छ ।