काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्।
नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।
उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताइन्। यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन्। ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन्।आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ। कार्यतालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ।