विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजरलगाएर हटाएको हो ।

 

सडक मापदण्डमा परेका संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर चलाउन बाध्य भएकाे प्रमख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । उनले भने, ‘संरचना नहटाउँदा महानगरका विभिन्न सडकहरुको विस्तार अलपत्र परेको थियो ।’

केही दिनअघि बसपार्क दक्षिण अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना हटाएको छ । स्थानीय विनोद रिजालको स्वामित्वमा रहेको गोदाम घर, पर्खाल तथा वडा नम्बर १ को कार्यालयको पर्खाल, खानेपानी कार्यालयलगायतका संरचना हटाएको छ ।

नगर प्रहरीका प्रमख राजन पौडेलको नेतृत्वमा डोजरसहितको टोलीले वडा सदस्य मोहनकर्ण कार्कीको उपस्थितिमा घर, पर्खाल, गोदामलगायतका संरचनामा डोजर लगाएको हो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नगर्ने महानगरका मेयर नागेश कोइरालाले बताउँदै आएका छन् ।

उनले सडक मापदण्डमा परेका संरचना हटाएर विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीसित आग्रहसमेत गरेका छन् । “विराटनगरलाई अब यथास्थितिमा राख्न सकिँदैन,” कोइरालाले भने, “विश्वका विकसित र आधुनिक सहर भत्काएर बनाएका हुन् ।” उनले भने यस्तै महानगरको टोलीले हाटखोला चोकदेखि पुर्वसम्मको सडक मापदण्डमा परेका संरचनासहित आसपासका टहरासमेत हटाएको छ ।

महानगरको सौन्दर्यतामा ह्रास आउने गरी निर्माण गरिएका टहरा हटाउन पटक–पटक सुचना जारी गर्दा पनि नहटाएपछि महानगर आफैंले हटाउनु परेको सरसफाई शाखा प्रमुखले बताएका छन् । महानगरले डोजर चलाएर सडक मापदण्डमा परेका संरचना हटाउँदा हाटखोलामा भेटिएका प्रकाश कार्कीले त ताली नै बजाए । उनले भने, “अब चाहिं विराटनगर बल्ल महानगरजस्तो देखीने भयो ।”

84
Shares
२० फाल्गुन २०७९, शनिबार १७:१८