काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । चर्च ब्वाइज युनाइटेड क्लबले आज शीर्ष डिभिजनमा डेब्यु गर्ने छ ।
चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्दै ए डिभिजन यात्रा सुरु गर्न लागेको हो ।
चर्च ब्वाइज बी डिभिजन लिग विजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएको थियो । टिमको कप्तानी राष्ट्रिय टिमको डिफेन्डर अनन्त तामाङले सम्हाल्नेछन् । यो खेल दिउँसो साढे २ बजे च्यासल मैदानमा हुनेछ । च्यासलमा हुने यो पहिलो खेल पनि हो ।यस्तै, दिउँसो साढे दुई बजे नै एपीएफ क्लब र थ्रि स्टार पनि आमने सामने हुनेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
उपाधि दावेदार मनाङ मर्स्याङदीले हिमालयन शेर्पाको सामना गर्नेछ । साँझ साढे पाँच बजे हुने खेल रंगशालामै हुँदैछ । लिगको नयाँ सिजन हिजोदेखि सुरु भएको हो । पहिलो खेलमा नवप्रवेशी क्लब खुमलटारले फ्रेन्डस क्लबलाई १ – ० गोलले हराएको थियो ।