विराटनगर । विराटनगरको खानेपानी सुधारका लागि महानगरपालिका र जाइका नेपालको टोलीबीच छलफल भएको छ।

खानेपानी सुधारका लागि गतवर्ष फागुनमा महानगरपालिका र जाइकाबीच सम्झौता भएपछि शुक्रबारको छलफलमा महानगरका मेयर नागेश कोइरालाले आयोजनालाई सुरु गर्न आग्रह गरेका छन्।

जाइका नेपालका प्रमुख ओकुबो अकिमित्सुसँगको छलफलका क्रममा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका थिए। उनले जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने दाबी गरे।

खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको गुनासो गर्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख अकिमित्सुको ध्यानाकर्षणसमेत गरेका थिए।

विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवले गत वर्ष फागुनमै हस्ताक्षर गरेका थिए।

जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलब्ध गराउने महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले जानकारी दिए।

21
Shares
२० फाल्गुन २०७९, शनिबार ०७:२९