काठमाडौं । राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवाग्राहीका समस्या फोनबाटै समाधान गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ । सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना भएको चार वर्षपछि सेवाग्राहीको गुनासो सम्बोधनका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय परिचय पत्रबारे कुनै गुनासो, जिज्ञासा भएमा कल सेन्टरमा फोन गर्न विभागले आग्रह गरेको छ । सेवाग्राहीले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गरे पनि परिचय पत्र नम्बर प्राप्त नभएमा, नाम दर्ता गर्दा नै समस्या आएमा कल सेन्टरबाट सेवा लिन विभागले आग्रह गरेको छ ।
त्यसैगरी राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र लिँदा दिएको विवरण भिडाउँदा समस्या आएमा र राष्ट्रिय परिचयपत्र नम्बर पाएपछि त्यसको कन्फर्मेसन पेज हराएमा कल सेन्टरबाटै समाधान हुने भएको छ ।विभागले कार्यालय समयभित्र कल सेन्टर सञ्चालन हुने जनाएको छ । कल सेन्टरको नम्बर ०१५९७०४४९ रहेको छ । यसमा एकै पटक चारजनाले सम्पर्क गर्न सक्नेछन् । दैनिक दुई सय पचासभन्दा बढी कल आउने गरेको छ ।