कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले काेशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएकाे बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएकाे उनकाे भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान काेशी प्रदेशमा नै गर्ने बताए ।
काेशी प्रदेशका लागि दर्ता गरिएकाे प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र बिदुरकुमार लिङ्थेप समर्थक रहेका छन् ।माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बाेले प्रदेशकाे नामकरण गर्नैपर्ने अवस्था भएकाले काेशी प्रदेशमा नै मतदान गर्ने निर्णय भएकाे बताए ।
प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ´किरात-लिम्बुवान-सगरमाथा प्रदेश` नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएकाे हाे ।