फिफा वर्ष खेलाडी २०२२ को पुरुषतर्फको अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले जितेका छन् ।पेरिस सेन्ट जर्मेन पीएसजीका ३५ वर्षीय मेस्सीले क्लबका टिम मेट फ्रेन्च किलियन एम्बाप्पे र रियाल मड्रिडका करिम बेन्जिमालाई पछि पारेका हुन् ।

पेरिसमा गएराति भएको विशेष समारोहमा फिफाका अध्यक्ष जियोनी इन्फान्टिनोले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए । सन् २०२-२२ को सिजनमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप जिताएका थिए ।

कतारमा गत नोभेम्बर-डिसेम्बरमा भएको फिफा विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । गत सिजन उनले राष्ट्रिय टिम र क्लबमा गरी ४९ खेलमा २७ गोल गरेका थिए ।

दोस्रो पटक फिफा वर्ष खेलाडी बनेका मेस्सीले आफ्ना लागि बितेको वर्ष अभुतपूर्व रहेको प्रतिक्रिया दिए । टिम मेटको सहयोगमा लामो समयदेखि प्रतिक्षा गरेको आफ्नो सपना विश्वकप उपाधि हासिल गरेको प्रतिक्रिया दिए ।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सिया पुटेलस उत्कृष्ट बनिन् । प्रतिस्पर्धामा इंग्ल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा रहेका थिए । पुटेयासले लगातार दोस्रो वर्ष यो अवार्ड हात पारेकी हुन् । अर्जेन्टिनाका लियोनल स्कलनी र इंग्ल्यान्डकी सरिना भिगमनले प्रशिक्षकको अवार्ड जिते ।

उत्कृष्ट गोलकिपर इंग्ल्यान्डकी म्यारी अर्पस र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज घोषित भए । उत्कृष्ट गोललाई प्रदान गरिने पुस्कास अवार्ड पोल्यान्डका एम्प्युटी फुटबलर मार्चिन ओलेक्सीले जिते । फेयर प्ले अवार्ड जर्जियाका लुकाले हात पारे । अर्जेन्टिनाका समर्थकले फिफा फ्यान अवार्ड प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु