फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि सानदार जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली मार्सेलाई ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई गोल र एक असिस्ट तथा मेस्सीले एक गोल र दुई असिस्ट प्रदान गरे ।

स्टेड ओरेन्ज भेलो ड्रोम मार्सेमा आइतबार राति भएको खेलको २५औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले गोलको खाता खोलेको थियो । उनले मेस्सीको पासलाई सदुपयोग गरेका थिए । २९औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

५५ओं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पिएसजी खेलमा ३–० ले अघि बढ्यो । उनले मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २५ खेलबाट ६० अंक पुगेको छ । पराजित मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा छ । पिएसजीले मार्सेलाई ८ अंकले पछि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु