काठमाडौं । भारतको सिलिगुढीमा रहेको इन्डियन आयल कर्पोरेशनबाट झापा ल्याइएको चार ट्याङ्करमा डिजलमा मिसावट भेटिएपछि छानबिन सुरु भएको छ ।
नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतवारदेखि छानबिन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीमा रहेको आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग सोधपुछ गरेको छ ।
निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजलमा मिसावट भएको आशङ्का गरिएको छ ।नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ ख २१५१, उत्तरगङ्गा यातायात प्रालीका नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।
ती ट्याङ्कर अहिले चारआलीमा रहेको निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । भारतबाट ट्याङ्करबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै बिक्रेता पेट्रोल पम्पमा पठाउने चलन छ ।
निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानबिन समितिले आजदेखि छानबिन थालेको हो ।
छानबिन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् ।