काठमाडौं । राष्ट्रपति पदका लागि परेको उम्मेदवारी विरुद्ध आज (आइतबार) उजुरी दिने समय तोकिएको थियो । तोकिएको समयभित्र दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेन ।
राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सूचना जारी गर्दै दुवै उम्मेदवारीविरुद्ध उजुरी नपरेको जनाएकी हुन् ।शर्माद्वारा जारी सूचनामा भनिएको छ, ‘आसन्न राष्ट्रपति निर्वाचन २०७९ का लागि निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार आज मिति २०७९/११/१४ गते बिहान १० बजेदेखि २ बजेसम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएकामा सो समयभित्र कुनै पनि उजुरी नपरेको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
उजुरीमाथि जाँचबुझ गर्ने समय भोलि (सोमबार) का लागि तोकिए पनि उजुरी नपरेपछि जाँचबुझको प्रक्रिया गर्नु नपर्ने भएको छ । बरु फागुन १६ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
राष्ट्रपतिका लागि मतदान फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म हुनेछ । निर्वाचनमा संघीय संसद्का ३३२ र सातै प्रदेशका ५५० प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।