काठमाडौ । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थालेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता थालेका हुन् ।

पौडेललेराष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरेर आफुलाई समर्थन गर्न प्रस्ताव गरेका छन् ।  तर राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्ना उम्मेदवार नेम्वाङलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले कांग्रेसबाहेक संसदमा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई पत्र पठाएको जानकारी दिएका छन् । अधिकारीका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ ।

राष्ट्रपतिको लागि आउँदो २५ गते मतदान हुँदै छ । कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीसँगै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ । एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् ।

एमाले नेताहरूले भने पुस १० गते भएको सहमतिअनुसार नै राष्ट्रपति चुनावमा माओवादीसहित दलहरुको साथ पाउने दाबी गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ को बहुमत २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ । पौडेलको पक्षमा रहेका दलहरुको मतभार ३१ हजारभन्दा धेरै छ भने नेम्वाङको पक्षमा एमालेको १५ हजार ३ सय १२ मत मात्रै छ ।

यो हिसाबले राष्ट्रपतिमा पौडेलको जित निश्चितजस्तै देखिए पनि एमालेका नेताहरुले मत क्रस हुने र नेम्वाङको पक्षमा बहुमत पुग्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु