ताप्लेजुङ । प्रदेश १ का खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङवोले वास प्लान्ट र विद्युतीय चार्जिङ सेन्टरको अवधारणा अघि बढाइएको बताएका छन् ।
गृह जिल्ला ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशका १४ जिल्लाका दुई/दुई पालिकालाई छनोट गरी वास प्लान्टको काम सुरु गर्ने बताए ।
‘वास प्लान्ट योजना अन्तर्गत छानिएका पालिकामा पानीका मुहान, खानेपानी पुगेका घर, खानेपानीको समस्या भएका घर, खानेपानीका ट्यांकी लगायत खानेपानी सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गरी वेबसाइटमा राखिने छ’ उनले भने ‘अबको समयमा कसैले पनि खानेपानीको समस्याका फाइल बोकेर सरकारी कार्यालय धाउनु नपरोस् ।’मन्त्री मेन्याङवोका अनुसार ताप्लेजुङमा फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउॅपालिकामा यो काम हुनेछ । अन्य जिल्लाको पालिका छनोटको काम भइरहेको उनले बताए ।
विद्युतीय सवारी र ऊर्जा खपत बढाउन ठाउॅ/ठाउॅमा चार्जिङ स्टेसन राख्ने योजना रहेको पनि उनले बताए ।
विद्युतीय सवारी खरिदमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने पनि बताए ।