राष्ट्रपतिका लागि फागुन २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। यसका लागि आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन्।
संघीय संसद्का ३३२ र प्रदेश सभामा ५५० गरी ८८२ जनाले मतदान गर्नेछन्। संघीय सांसद र प्रदेश सभाका सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। उनीहरूको मतभार पनि फरक–फरक हुनेछ।मनोनयन दर्ताको अघिल्लो दिन शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन्। नेकपा एमालेले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ।