उद्घाटन समारोहमा ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको ९० जनाको टोलीले विशेष प्रस्तुति दिने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुनेछ ।प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ गरी कूल आठ टोलीको सहभागिता हुनेछ ।
बाइसौँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । २०७६ फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो ।२०७६ पछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन ।
यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ ।
फागुन २० गतेसम्म हुने प्रतियोगिताको फाइनल विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछ । उत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ ।