काठमाडौ । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९-०८० का लागि मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भइ अहिले राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आव २०७८–७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

सरकारले आउँदो चैत १३ देखि १६ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने दीगो विकाससम्बन्धी १०औँ एसिया प्यासिफिक फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिएको छ ।

49
Shares
१३ फाल्गुन २०७९, शनिबार ०६:०१