दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया छैटौँ उपाधि नजिक पुगेको छ। भारत भने चौथो पटक सेमिफाइनलबाटै बाहिरिएको छ।  अब अस्ट्रेलियाले उपाधिका लागि इंग्ल्यान्ड र आयोजक दक्षिण अफ्रिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

बिहीबार केपटाउनमा भएको सेमिफाइनलमा साविक उपविजेता भारतलाई ५ रनले पराजित गर्दै साविक च्याम्पियन अस्ट्रेलिया लगातार तेस्रो पटक र समग्रमा सातौँ पटक महिला  टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो। जवाफमा सानदार ब्याटिङ गरेको भारत डेथ ओभरमा लगातार विकेट गुमाउन पुगेपछि जित नजिक पुगेर पराजित भयो। राम्रो प्रदर्शनका बावजुत भारत निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सफल भयो। 

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मोनीले ५४ रनको अर्धशतकीय इनिङ खेलिन। त्यस्तै कप्तान मेघ लानिङले ४९ रनको अविजित इनिङ खेल्दा ओपनर एलिसा हेलीले २५ रन बनाएकी थिइन। त्यस्तै एस्लेइघ गार्डनरले टिमका लागि ३१ रन बनाउँदा भारतको दुई विकेट समेत हात पारिन उनी प्लेयर अफ द म्याच घोषित भइन।

१ सय ७४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको भारतले सुरुवातमै लगातार विकेट गुमाएपनि मध्यक्रमले विस्फोटक इनिङ खेल्दा अस्ट्रेलियालाई चुनौती दिएको थियो। तर अन्तिम ओभरहरुमा विकेट गुमाउन पुग्दा हार भोग्यो। भारतका लागि कप्तान हरमनप्रित कौरले ३४ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेलिन। त्यस्तै  जेमिमा रोड्रिगजले ४३ रन बनाउँदा दिप्ती शर्मा २० रनमा अविजित रहिन। त्यस्तै रिचा घोषले १४ रन बनाउँदा सेन रानाले ११ रन बनाएकी थिइन। अस्ट्रेलियाका लागि गार्डनर र डार्सीया ब्रउनले समान २-२ विकेट लिए।
112
Shares
१२ फाल्गुन २०७९, शुक्रबार ०६:२१