बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन्। मंसिरमा छरेको गहुँ फागुनमध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन्।

जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो। खेतबारी नै हरियाली हुन्थ्यो। बुढा भन्छन्, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो। खेत गहरा गहुँमय हुन्थे। तोरी पनि रहरलाग्दो हुन्थ्यो। अइलका वर्ष भन्या दशा लाग्या ९यस वर्ष भने खराब समय भयो।”

सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो। ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न) गर्नु पर्दैनथ्यो। यस वर्ष भने आकाश हेर्दा हेर्दै आएको बादल पनि फाटेर जाने तर, पानी नपर्ने गरेको उनी बताउँछन्।

“हाम्रो ठाउँ हिमाल भए पनि उब्जनीका लागि उपत्यकाभन्दा कम थिएन”, बुढा भन्छन्, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ। हिउँदमा भने आकाशकै भर पर्नुपर्छ। मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ। आजको दिनसम्म न पानी, न हिउँ परेको छ।”

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए। “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहार्‍यौँ। बिहान बेलुकाको पुजामा हिउँकै वर माग्यौँ। कहिलेकाँही आकाशमा बादल देखिन्छ। त्यसैमा फाटेर जान्छ”, बोहरा भन्छन्। अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ।

“गत महिना हिमपात भयो। सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन। पानी पनि पर्‍यो तर जमिनको धुलो बसाउने गरी पनि आएन”, बोहोरा भन्छन्। पानी नआउँदा अहिले खडेरी परिरहेको उनले बताए।

56
Shares
११ फाल्गुन २०७९, बिहीबार १०:१०