आईसीसी महिला टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा २ हेभिवेट प्रतिस्पर्धी अस्ट्रेलिया र भारत आज आमनेसमाने हुँदैछन् । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे केपटाउनमा हुनेछ ।

जारी प्रतियोगितामा साविक विजेता अस्ट्रेलिया उच्च फर्ममा छ । समूह चरणका चारवटै खेलमा जित हात पार्दै अस्ट्रेलिया समूह एको विजेताका रुपमा अन्तिमा चार प्रवेश गरेको हो।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा न्यूजिल्यान्डलाई ९७ रनको विशाल अन्तरले हराउँदा बंगलादेश र श्रीलंकाले दिएको लक्ष्य सहजै भेटाएको थियो ।

घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध उसले पावर हिटिङको बलियो नमुना प्रस्तुत गरेको थियो । यता भारतले पनि इंग्ल्यान्डविरुद्ध समूहको तेस्रो खेलमा पराजय व्यहोर्दा बाँकी ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यी दुईबीच यो फम्यार्टमा भएको पछिल्ला पाँच भेटमा अस्ट्रेलिया बलियो देखिएको छ । उसले ४ खेल जित्दा १ खेल बराबरीमा रोकिएको थियो ।

सबै प्रतिस्पर्धामा गरी ११ पटक भएको भेटमा भारतले अस्ट्रेलियालाई हराउन सकेको छैन । भारतका लागि आजको खेलमा स्मृती मन्दनाको फर्मले महत्व राख्नेछ । उनी जारी प्रतियोगिताकी सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एक सय ४९ रन बनाएकी छन् । अस्ट्रेलियाकी ब्याटर एलिसा हिलेले एक सय ४६ रन बनाएकी छन् ।

सन् २०२० मा मेलबर्नमा भएको फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराउँदै कीर्तिमानी पाचौँ पटक प्रतियोगिताको उपाधि उचालेको थियो।

77
Shares
११ फाल्गुन २०७९, बिहीबार ०९:३०