भद्रपुर । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्ती मगरले समान एक–एक गोल गरे ।

खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए ।

खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे । खेलको ८६औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।

मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु