धरान । आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ हुने भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुने धरान एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले तयारी पूरा भएको जानकारी दिए ।

धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

चार दशकअघि पूर्वको व्यापारिक केन्द्रका रुपमा परिचित धरानको आर्थिक गतिविधि पछिल्लो समयमा निराशाजनक रहेकाले यसलाई पुनर्जीवित गर्न फरक शैलीको एक्स्पो आयोजनामा ध्यान दिइएको उनले बताए ।

श्रेष्ठले भने, ‘पञ्चायतकालमा धरानको व्यापारिक र व्यावसायिक बजारले पहाड र मधेसका उपभोक्तालाई लोभ्याएको थियो । जति विकास हुँदै आयो उति आर्थिक गतिविधि सीमित हुँदै गयो ।’

धरानको समग्र व्यापारिक व्यावसायिक गतिविधि सोचे जति चल्न नसकेपछि कतिपय व्यापारी व्यवसायी छिमेकी शहरतिर बसाइ सर्ने क्रम बढेको उनले बताए ।

धरान रंगशालामा हुने एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष समेतरहेका श्रेष्ठले बताए ।

कृषि औजार, कपडा, छालाका सामाग्री, घरेलु उपभोग्य सामग्री, मेसिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, कला साहित्यका सामाग्री र भवन निर्माणका स्टल एक्स्पोमा राखिने छन् ।

3
Shares
१० फाल्गुन २०७९, बुधबार १६:२८