२०६८ को जनगणनाअनुसार नेपालमा कुसुन्डा जातिको संख्या २६२ छ । त्यसमध्ये कमला कुसुन्डालाई मात्र कुसुन्डा भाषा बोल्न आउँछ । बाँकीलाई आफ्नो मातृभाषा न बोल्न आउँछ न त लेख्न नै ।
नेपालमा १३१ भाषा बोलिन्छन् । तीमध्ये दुई तिहाइभन्दा बढी भाषा आदिवासी जनजाति समुदायमा बोलिन्छन् । कुसुन्डासहित थोरै वक्ता रहेका दुरा, लुङखिम, तिलुङ, बराम, कागते, काइके, जोङ्खा, सघनीलगायत ४० मातृभाषा संकटमा परेका छन् ।बोलीचाली र लेख्य परम्परा नभएका कारण यी समुदायका धेरैले आफ्नो मातृभाषा बुझ्दैनन् र बोल्दैनन् पनि । सरकारले एक हजारभन्दा कम मानिसले बोल्ने भाषालाई लोपोन्मुख भाषाको सूचीमा राख्ने गरेको छ ।
काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले बोल्ने नेपाल भाषासमेत संकटमा पर्न थालेको छ । पछिल्लो तथ्यांकअनुसार करिब ४० प्रतिशत नेवार समुदायले मातृभाषा बोल्न छाडेका छन् ।यसका साथै कुमाल, गुरुङ्, किरात परिवारका समेत धेरैले मातृभाषा बोल्न छाडेका छन् । पेसा-व्यवसाय तथा रोजगारीमा व्यवहारिक रुपमा प्रयोग नहुनु र मातृभाषाबाट शिक्षा पाउने अवसर नभएकै कारण विस्तारै संकटमा परेको अगुवाहरु बताउँछन् ।
त्यसो त अहिलेसम्म सरकारसँग भाषासम्बन्धी स्पष्ट नीति नियम नै छैन । धेरै मातृभाषा लोप हुने अवस्थामा पुगेपछि भाषा आयोगले संरक्षण र व्यवहारिक प्रयोगका लागि आ-आफ्नो प्रदेश र स्थानीय तहमा सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन सिफारिस नै गरेको छ ।
भाषा र संस्कृति मुलुकको पहिचान मानिन्छन् । त्यसैले तिनको संरक्षण र संवर्द्धनका लागि सरकार गम्भीर त हुनुपर्छ नै स्वयं समुदाय पनि सचेत हुनु जरुरी छ ।