काठमाडौं । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे ।

रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २/२ तथा यूएई र नामिबियाविरुद्ध १/१ अर्धशतक बनाएका थिए  । करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए ।

ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए । आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए ।

नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो । १ सय ३८ रनमा आठौं विकेट गुमाएको नेपालले जितका लागि नवौं विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गरे ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए । सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए ।  त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए । उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।

म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । उसका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।

यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् । यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल रहेको थियो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाएको छ । स्कटल्याण्डलाई पराजित गरेको नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ । नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली समेत बनेको छ ।

यस्तै नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु