काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आइपुगेको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले दिए ।

उनका अनुसार खोप पनि तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको हो । यसअघि फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो ।

गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ ।

उक्त खोप फागुन ११ र १५ गतेमा पनि ल्याइनेछ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।

14
Shares
९ फाल्गुन २०७९, मंगलवार १०:०२