जिल्लाका केही किसानले फर्म नै सञ्चालन गरेर व्यवसायिक बाटो समाएका छन् । सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीमा रहेको नमुना बाख्रापालन समूहमा आबद्ध २ जना किसानले फर्म सञ्चालन गर्न सफल भएका हुन् ।
स्थानीय रमेशकुमार धमलालेःहालै समृद्धि बाख्रा फर्म र बुद्धिकादेवी धमलाले आइतबारे बाख्रा फर्म सञ्चालनमा ल्याएका छन् ।दुवै फर्म सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले उद्घाटन गरेका थिए ।
समृद्धि आयोजनाले ३५ हप्तासम्म समूहमा सञ्चालन गर्ने वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमबाट अभिप्रेरित भएर फर्म सञ्चालन गर्न सफल भएको आइतबारे बाख्रा फार्मकी सञ्चालक बुद्धीकादेवी धमलाले बताइन् ।यहाँको किसान समूहमा समृद्धि आयोजना लागु भएपछि अन्य आधा दर्जन समूह सदस्यले समेत व्यवसायिक फर्म सुरु गर्ने तरखरमा रहेको समूहका अध्यक्ष घनश्याम बाँस्तोलाले जानकारी दिए ।
समृद्धि आयोजना जिल्लाका ११ वटा समूहमा लागु छ । समृद्धि लागु भएका समूहका किसान व्यवसायिक बाख्रापालनतर्फ जुट्दै आएका छन् ।
विगत २ वर्ष अवधिमा समूहमा दोब्बर संख्यामा बाख्रा वृद्धि भएको नमुना बाख्रापालन कृषक समूहका सचिव ज्ञाननारायण श्रेष्ठले बताए।
समृद्धि आयोजना लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिँदै गएको छ । समृद्धिले किसान समूहमा नश्ल सुधार, खोर सुधार, घाँस खेती वित्तीय तथा प्राविधिक शिक्षा तालिम, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा काम गरिरहेको छ ।