पीडितहरुले सरकारीबाट आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग राखेका छन् । बचतकर्ताको रकम नदिइ सञ्चालकहरु कार्यालय बन्द गरेर फरार भएपछि पीडितहरु आन्दोलित बनेका हुन् ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले सेयर सदस्यले बचत तथा निक्षेपमा राखेको रकम भाका नाघ्दा पनि दिन नसकेको भन्दै यसअघि जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएका थिए ।कतिपय बचतकर्ता महिलाहरुले आफूले शौचालय सफाइको काम गरेर, पोलेको मकै बेचेर अनि सुँगुर पालन गरेर कमाएको पैसा बचत गरेको तर ठगीमा परेको बताएका छन् ।
कतिपय महिलाले दुःख गरेर कमाएको रकम संस्थामा बचत गरेको तर संस्थाका सञ्चालकहरुले अन्यत्र लगानी गरेर आफूहरुमाथि ठगी गरेको बताएका छन् ।आफूहरुले बचत गरेको रकम सहकारीका सञ्चालकले मोटरपम्प लगायत विभिन्न ठाउँमा जग्गा खरिद, चामल तथा दाल उद्योग, डिपार्टमेन्ट स्टोर सञ्चालन जस्ता क्षेत्रमा लगानी गर्दै आएको बचतकर्ताको भनाइ छ ।
पीडित महिलाहरुले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा पनि न्यायका लागि गुहार माग्दै उजुरी दिएका छन् । उजुरीमाथि छानबिन भइरहेको समितिले जनाएको छ ।
मोरङमा केन्द्रीय कार्यालयसहित झापा, सुनसरी, उदयपुर, संखुवासभा, धनकुटा, सिराहा, धनुषा जिल्लामा शाखा सञ्चालित तुलसी सहकारीमा १४ हजार बढी सानाठूला बचतकर्ताहरुको विभिन्न प्रकारका खाता सञ्चालित छन् ।
पीडितहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसमक्ष ज्ञापनपत्र पनि दिएका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले बचतकर्ताहरुको रकम सुरक्षित रहने व्यवस्थाका लागि पहल गर्ने बताए ।
दुई अर्ब रुपैयाँभन्दा बढी सेयर पूँजी भएको सो सहकारी २०७१ सालमा स्थापना भएको हो । यसैबीच, प्रहरीले सञ्चालकमध्येका तीनजनालाई पक्राउ गरेको जनाएको छ । सहकारी संस्थाका बचतकर्ताले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।