विराटनगर । नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको जनाइएको छ ।

एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरुलाई कारबाही गरिएको छ ।

बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए ।

कारबाही गरिएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको पाठकले बताए ।

बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

पार्टीको नीति सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

बैठकले एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानको कार्यतालिका निर्माण गरेको छ ।

63
Shares
५ फाल्गुन २०७९, शुक्रबार २१:२९