विराटनगर । अनियमितता बढेको उजुरी पर्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सहकारी संस्थाहरुबारे अनुसन्धान सुरु गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले सहकारीको ब्यालेन्स सिट र बैंक स्टेटमेन्ट नमिलेको भेटिएको भन्दै छुट्टै विज्ञ नियुक्ति गरेर अध्ययन भइरहेको जानकारी दिइन् ।

विराटनगरकै ठूलो तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संकटमा परेको छ ।

यस्तै महानगरपालिकाको न्यायीक समितिमा विभिन्न ५ वटा सहकारी विरुद्ध मुद्दा दर्ता भएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

कार्कीले भनिन्, ‘यहाँको सहकारीको शाखाको बाहेक एक जना दक्ष व्यक्तिलाई तीन महिनाको लागि नियुक्त गरेर राखेको छु । सहकारीले दिएको अडिट रिपोर्टमा राम्रो देखिन्छ । तर, सहकारीको हरेक दिन हामीकहाँ उजुरी आइरहेका छन् । अब यसरी हुँदैन हामीले नै हेर्नुपर्छ भनेर विज्ञलाई राखेर काम गरिरहेका छौं । बैंक स्टेटमेन्टसँग ब्यालेन्स सिट राखेर हामीले हेरिरहेका छौं ।’

उनले सहकारीलाई मर्ज गर्नुपर्ने पनि बताइन् । ‘झोलाझोलामा लिएर हिंड्ने खालका छन् । विशेष गरेर दक्षिणतिरको सहकारीमा भनेर जग्गा धितो राखेर पैसा लिन जानु भएको छ तर अध्यक्षले सहकारीमा धितो दर्ता नगरेर आफ्नो नाममा धरौटी लिएर पैसा दिएको पनि भेटेका छौं । त्यसो हुँदा ठगेर आफ्नै नाममा जग्गा लिएको पनि देखिएको छ,’ उनले भनिन् ।

35
Shares
५ फाल्गुन २०७९, शुक्रबार २१:०८