१० दिन आयोजना भएको एक्स्पो शनिवार सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको एक्स्पो भव्य रुपमा सम्पन्न हुने आयोजकले बताएका छन् ।
एक्स्पोमा ३७० वटा स्टलहरु रहेका थिए । स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद विक्रीमा पनि सीएनआईले राम्रो अवसर प्राप्त गरेको जनाइएको छ ।
मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधीलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्नका लागि सीएनआई कोसी एक्स्पोको भूमिका महत्वपूर्ण ठहरिएको सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

एक्सोलाई ऐतिहाँसिक बनाउने लक्ष्य अनुसार प्रदेश १ कै सर्वोच्च शिखर सगरमाथाबाट आर्थिक समृद्धिको सुरुवात गर्ने अभियान समेत सफल भएको उनले बताए ।
एक्स्पोमा नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट उद्योगी व्यवसायीहरुले आफ्नो मुलुकको उत्पादनलाई नेपाली उपभोक्तामाझ परिचित गराएका छन् । एक्स्पो अवधिभर हरेक साँझ नयाँ–नयाँ कलाकारहरुले प्रस्तुत गर्ने सांगीतिक र सा“स्कृतिक प्रस्तुतिले समेत एक्स्पोको अपरिहार्यता पुष्टि गरेको जनाइएको छ ।
तीन तहको सरकार मध्ये एक्स्पोलाई सफल बनाउन सहयोग गरेको प्रदेश १ सरकार, विभिन्न मन्त्रालय र निकायहरुको भूमिका पनि सीएनआई प्रदेश १ का लागि निकै महत्वपूर्ण बनेको अध्यक्ष घिमिरेले बताए ।
एक्स्पोको समापन शनिबार अपरान्ह ३ बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जनाइएको छ ।

समापनका लागि सीएनआई प्रदेश समितिले महत्वपूर्ण तयारीहरु गरेको छ । एक्स्पोमा उत्कृष्ट रहेका स्टलहरुलाई मुल्यांकन समितिको सिफारिसमा समापन समारोहमा सम्मान गरिने जनाइएको छ ।
सीएनआईले एक्स्पो अवधिभर ज्येष्ठ नागरिकहरुलाई टिकट निशुल्क गरेको थियो । समापनमा पनि त्यसलाई निरन्तरता दिइएको जनाइएको छ ।
अन्य उमेर समुहको हकका भने यसअघि नै परिमार्जन गरेर तोकिएको प्रवेश शुल्क लाग्ने छ । जस अनुसार साँझ ६ः३० बजेसम्म १०० रुपैयाँमा टिकट खरिद गर्न सकिने छ । त्यसपछिको समय २०० रुपैयाँ लाग्ने जनाइएको छ ।
समापन समारोह सम्पन्न भएपछि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ ।

शनिबार साँझ चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ को प्रस्तुति रहेको छ ।